"Buddha Was Born in Nepal वुद्ध नेपालमा जन्मेका हुन्
(Advertisement Available, Contact to admin for Ads.)

आफ्ना रचनाहरु ब्लगमा पोष्ट गर्न चाहानुहुन्छ भने कथा बाहेछ, कम्तिमा ५ ओटा श्रृजना (गजल, मुक्तक, कविता आदि)
आफ्नो पुर ठेगाना र एक प्रति फोटो सहित newschisapani@gmail.com मा मेल गर्नुहोला ।
Home » » नेपालमा सामुदायिक पुस्तकालयको अवस्था र चुनौति

नेपालमा सामुदायिक पुस्तकालयको अवस्था र चुनौति

Ram Sharan Shrestha | Thursday, November 17, 2011 | 0 comments
भोला कुमार श्रेष्ठ
एक पुस्तकालय प्रत्येक युग र प्रत्येक देशका महात्माहरुको अमर समुह हो र यो जतिको अनमोल ठाउँ अरु हुँदैन । सुनको मंन्दिर यसको अगाडि नगन्य छ, कुबेरको जुहारखान यस अगाडि तुच्छ । यो एक अबोला सानो तर विशाल विश्वविद्यालय हो । तपाई एक पुस्तकको मोल हिसाव गरिसक्नुहुनेछैन । यो बुद्धिको व्यञ्जनशालालाई ब्यक्ति तथा सरकार कसैले पनि ध्यान दिन सकिरहेको छैन । हामीले तत्काल ठूला पाठशाला मंन्दिर बनाउन सकेनौ तर हामी पुस्तकको विशाल सङ्ग्रह गरेर प्रत्येक टोल टोलमा, गाउँ गाउँमा विद्याप्रति अभिरुचि विकास गराएर जनचेतनाको स्तर चाहिए जति उच्चतामा पुर्याउनको निम्ति कोसिस गर्न त सक्दछौं । नगनुए महापाप हो, राष्ट्र र प्रजातन्त्रको हत्या गर्नु हो । एक एक पुस्तकालय खडा गर्ने एक एक टोलका सेवकलाई म अन्तरआत्माले नमस्कार गर्दछु ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा

उपरोक्त भनाई महाकवि लक्ष्मी प्रसाद देवकोटाको हो । यसले प्रष्ट रुपमा पुस्तकालयको महत्व र आवश्यकतालाई उजागर गरेको छ । जुन, अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक छ ।

परिचय
ब्यक्ति र समाजको विकास बिना देशको विकास हुन सम्भव छैन । ब्यक्तिलाई समाजमा सक्रिय बनाउनको लागि शिक्षाको अहम भूमिका रहेको हुन्छ । जुन उनिहरुको प्रजातान्त्रीक अधिकार पनि हो । संन्तोषजनक शिक्षा र निःशुल्क पुस्तकालय हो । सामुदायिक पुस्तकालयलाई जन पुस्तकालय वा सार्वजनिक पुस्तकालय पनि भनिन्छ । सामुदायिक पुस्तकालयमा सामुदाय भित्रका जनतालाई आवश्यक पर्ने विभिन्न किसिमका पुस्तक, पत्रपत्रिका, प्रतिवेदन, पोष्टर, नक्शा, विश्वकोश, श्रब्यदृश्य, इन्टरनेट सुविधायुक्त सामग्रीहरुको सङ्कलन गरी राखीएको हुन्छ । सामुदायिक पुस्तकालयले धनी, गरिब, ठूलो सानो, जाति, धर्म, बर्ण, लिङ्ग आदिको कुनै भेदभाव नगरी निरन्तररुपमा ज्ञान र सूचना प्रवाह गरी राखेको हुन्छ । सामुदायिक पुस्तकालय स्थानिय सरकार र जन सहभागितावाट जनहितको दृष्टिलाई ध्यामा राखी प्रायः सबै गाउँघरमा खोलिएको हुन्छ । त्यसैले समुदायिक पुस्तकालयलाई स्थानीय ज्ञानको मूख्य द्धार पनि भन्दछन् ।
युनेस्को ले समेत सामुदायिक पुस्तकालयको महत्वलाई यसरी दर्साएको छ “ प्रजातन्त्रको गजलाई बलियो बनाउन सामुदायिक पुस्तकालायले महत्वपूर्ण खेलेको हुन्छ, यसले राजनीतिक, धार्मिक, सांस्कृतिक चेतनालाई जागृत गराई प्रजातन्त्रको विकासलाई टेवा पुर्याउँछ ।”

सामुदायिक पुस्तकालयको ऐतिहासिक पृष्ठभूमि :
नेपालमा पुस्तकालायको कुरा गर्दा केही ऐतिहासिक पृष्ठभूमिबाट सुरु गर्नु पनेए हुन्छ । लिच्छवी तथा मल्लाकालमा पनि पुस्तकालय नभएका होईनन् । पुस्तकालयको नाम नदिईएता पनि त्यतिखेरका शैक्षिक सामग्रीहरु जस्तै ताम्रपत्र, भोजपत्र, हस्तलिखित ग्रन्थ, शिलालेख आदि राजाको दरवार, धार्मिकस्थल, पुरोहितहरुको घर, मंन्दिर, विहारहरु संङ्ग्रह गरी राखिएका हुन्थे । यसलाई नै पुस्तकालायको सुरुवात मान्नु पर्दछ ।।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपश्चात नुवाकोट दरवार, भक्तपुर दरवार, पाटन दरवार र केहि मठ मंन्दिर, विहारहरुमा छरिएर रहेको ऐतिहासिक सामग्रीहरु जस्तै हस्तकला, ग्रन्थ, पुस्तक, ताम्रपत्र, भोजपत्र आदि हनुमान ढोकाको बसन्तपुर दरवारमा संकलन गरि राखे । यहि संकलित शैक्षिक सामग्रीहरुलाई पुस्तक चिताई तहविलको नामाकरण गरि वि.सं. १८६९ साल भदौ १५ गते श्री ५ गीवार्णयुद्ध वीरविक्रम शाहदेवले लालमोहर जारी गरि एकजना तहविल र दुईजना टहलुवाको ब्यवस्था गरि पुस्तकालयको शुरुवात गरेको पाईन्छ । यहि वसन्तपुर दरवारमा रहेको पुस्तक चिताई तहविललाई राण प्रधानमन्त्री जंगवहादुरले थापाथलीमा रहेको आफ्नो दरवारको जैसिकोठामा ल्याएार राखे । पछि यिनै संकलनहरु दरवार स्कुलमा स्थानान्तरण भएपछि दरवार लाईब्रेरीको नामबाट संकलित भयो भने घण्टाघर लाईब्रेरी र पछि आएर राणा प्रधानमन्त्री वीर शमशेरले आफ्नो नाममा वीर लाईब्रेरी नामाकरण गरी सञ्चालन गर्न थालियो । यहाँनिर उल्लेखनिय कुरा के छ भने सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर रहेको वीर पुस्तकालय देव शमसेर प्रधानमंत्री भएपछि गोरखापत्र वर्ष १, अङ्क २ मा सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी खुल्ला गरिएको  विज्ञप्ति प्रकाशित गरे ।

वि.सं. २०१३ सालमा राष्ट्रिय अभिलेखालयको ब्यवस्था भएपछि वीर लाइब्रेरीमा रहेको सबै ऐतिहाँसिक सामग्रीहरु राष्ट्रिय अभिलेखालयमा सारिएपछि धेरै बर्षसम्म वीर लाइब्रेरीको नाममा संचालन भएको नाम राष्ट्रिय अभिलेखालयमा आएर टुङ्गीयो ।

विशेष गरि सार्वजनिक पुस्तकालय विकासको लागि युवहरुले गरेको प्रयासलाई पनि उच्च मुल्याङ्कन गर्नुपर्ने हुन्छ । १९ औं शताब्दीको मध्यतिर सारा संसारमा पुस्तकालयको महत्वको विषयमा एउटा आन्दोलननै चल्यो । फलस्वरुप विभिन्न देशका एउटा सार्वजनिक, शैक्षिक पुस्तकालयहरु धमाधम खोलिए । यसको प्रभाव नेपालमा पनि चर्यो । सरस्वति पुस्तकालय खोल्नअघि सरेका ४५ जना युवहरु वि.सं. १९८६ मा देशद्रोहिको अभियोग लगाई प्रधानमन्त्री भीम शमशेरले समात्न लगाए । पछि १०० रुपैया जरिवाना गरेर छाडियो । नेपालको ईतिहासमा यललाई लाइब्रेरी पर्वको रुपमा चिनिन्छ । यसरि सजाय पाउनेहरुमा लक्ष्मि प्रसाद देभकोटा, बैकुण्ठ प्रसाद लाकौल, कृष्ण प्रसाद कोईराला, शंकरदेव पन्त आदि थिए । १०४ वर्षसम्मको एकतन्त्रिय जहानिय राण साशणमा नेपालमा त्यतिखेर स्कुल, पुस्तकालय खोल्नु अपराध मानिन्थ्यो । यस्ता विषम अवस्थामा पनि नेपाली युवाहरुले चेतनाको ज्योति बाल्न केहि सार्वजनिक पुस्तकालयहरु खोलेका थिए । त्यस बखत खोलिएका केहि महत्वपूर्ण पुस्तकालयहरुमा पाल्पाको धवल पुस्तकालय, बुटवलको महावीर पुस्तकालय, विराटनगरको आदर्श पुस्तकालय, धरानको सार्वजनिक विद्या भवन पुस्तकालय, काठमाडौंको प्रदिप्त पुस्तकालय र पाटनको शारदा पुस्तकालय आदि हुन् ।

सामुदायिक पुस्तकालयको वर्तमान अवस्था
नेपालमा सामुदायिक पुस्तकालयको वर्तमान अवस्थाको कुरा गर्दा नेपाल पुस्तकालय सङ्घले १९९७ र २००३ मा गरेको पुस्तकालयको अवस्थाको सर्वेक्षणले बास्तविकतालाई प्रष्ट्याउँछ । नेपालमा करिव ७०० सर्वजनिक सामुदायिक पुस्तकालयहरु रहेको अनुमान छ । ति पुस्तकालयहरु मध्ये धेरैजसो पुस्तकालयहरुको अवस्था भने ज्यादै दयनिय छ ।

दयनिय हुनुका कारणहरु

    जनतामा पुस्तकालय चेतनाको कमी
    दिगो आर्थिक स्रोत केहि नहुनु
    निम्नस्तरको शैक्षिक सामग्रीहरुको संकलन
    कर्मचारीको अभाव
    भौतिक सुविधा न्युन
    सरकारी उदासिनता
    आवश्यक नीति नियमको अभाव

हाल आएर केहि सामुदायिक पुस्तकालयहरुले समुदायमा उल्लेखनीय सेवाहरु प्रदान गर्दै आएका पनि छन् । यसरी सेवा प्रदान गर्ने पुस्तकालयहरुमा रिड नेपालबाट सहयोग प्राप्त गरेका पुस्तकालयहरुले पुस्तक, पत्रपत्रिकाको साथै इन्टरनेट, ईमेल सेवाहरु पनि दिईरहेका छन् । समुदायको विकासमा पनि सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । यसको साथै केहि नगरपालिका, गा.वि.स. र अन्य संघ संस्थाबाट सहयोग पाइरहेका पुस्तकालयहरुको अवस्था पनि अन्यको तुलनामा समुदायमा राम्रो सेवा प्रदान गर्दै आएका छन् ।

मुस्ताङमा सामुदायिक पुस्तकालय
हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ पश्चिमाञ्चल विकास क्षेत्रको दुर्गम पहाडी जिल्ला हो । कालीगण्डकी नदीको तिरमा रहेको कागबेनी, जोमसोम, माफी, टुकुचे, कोवाङ आदि यहाँका प्रमुख तस्विरहरु हुन् । प्रख्यात मुक्तिनाथ मन्दिरले गर्दा धार्मिक पर्यटन प्राकृतिक सौन्दर्यले गर्दा बैदेशिक पर्यटकहरुको गन्तब्यस्थलको रुपमा मुस्ताङ जिल्ला रहेको छ । विकट भौगोलिक बातावरणले गर्दा शिक्षामा पछि परेको यस जिल्लामा अहिले आएर ५ वटा सामुदायिक पुस्तकालय रहेको तथ्याङ्क भएता पनि ३ वटा सामुदायिक पुस्तकालयले सेवा प्रदान गरिरकेका छन् ।

यस जिल्लामा पुस्तकालयको इतिहासलाई नियाल्दा थाक पुस्तकालय सबभन्दा पुरानो पुस्तकालय हो । पचास वर्ष अघिनै स्थापित यस पुस्तकालयले सन् १९९४ मा रिड नेपालको सहयोग पाएपछि यसले पुनजन्म पायो । रिडको सहयोग पाएका पुस्तकालयहरुमा आर्थिक आर्जन गर्ने हिसावमा यो पहिलो नम्वरमा आउँछ । पुस्तकालय दियो विकासको लागि खोलिएको फर्निचर कारखानाले राम्रो आम्दानी गरिरहेको छ । यस पुस्तकालयले समुदायमा ज्ञान र सुचना मात्र प्रवाह नगरी समुदाय विकासको लागि पुल, स्कुल भवन निर्माणको लागि समेत आर्थिक सहयोग गरेका छन् भने छात्रवृत्ति प्रदान गर्नेदेखि लिएर अन्य काममा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ । टुकुचे गाउँको आफ्नै भवनमा सञ्चालित यस पुस्तकालयले थाकवासीहरुलाई मात्र नभई पर्यकहरुलाई समेत पुस्तकालयको सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रख्यात नेपाली कवि भूपी शेरचनको नामबाट स्थापित भूपी स्मृति थाक पुस्तकालय कोवाङ गाविसमा रहेको छ । २०५७ सालमा स्थानीय सचेत जनसमुदाय स्थापित यस पुस्तकालयले शैक्षिक जागरणमा महत्वपूर्ण योगदान दिंदै आएको छ । “धौलाश्री युगवाणी” पत्रिका प्रकाशनदेखि लिएर कविता, वक्तृत्वकला प्रतियोगिता आदि गरेर मुस्ताङवासिलाई साहित्यिक जागरण उन्मुख गर्दै आएको छ । रिड नेपालको समेत सहयोग पाएको यस पुस्तकालयले बाल शिक्षा केन्द्रको रुपमा पनि रहेको छ ।

रिडको सहयोग र आमा समुहद्धारा सञ्चालित पुथाङ सामुदायिक पुस्तकालय तथा सुचना केन्द्र मुस्ताङको सदरमुकाम जोमसोममा रहेको छ । यस पुस्तकालयमा बालबालिका, विद्यार्थी, महिला, सरकारी कर्मचारीहरु, पर्यटकहरु पुस्तक पत्रपत्रिका अध्ययनको लागि आउने गर्दछन् । कम्प्युटरको सुविधा समेत भएको यस पुस्तकालयमा बालबालिकाको लागि शैक्षिक खेलौना समेत उपलब्ध छ । पुस्तकालयकै अगुवाईमा आमा समुहले सर सफाई राख्ने कामदेखि लिएर स्कुलजान नपाउने केटाकेटीहरुका लागि पुस्तकालयबाट जिल्ला कार्यालयको सहगोगबाट साक्षरता कक्षा सञ्चालन गरिरहेका छन् । पुस्तकालयको दिगो विकासको लागि पुस्तकालय भवनलाई पसल, कबल र हल भाडामा लिएर उठेको पैसाले पुस्तकालय सञ्चालनमा खर्च गरेका छन् ।

रिडकै सहयोगबाछ माथिल्लो मुस्ताङमा सामुदायिक पुस्तकालय खोलिएका छन् । यसरी जिल्लामा सामुदायिक पुस्तकालयको माध्यमद्धारा शिक्षाको जनचेतना र ज्ञान सुचना प्रवाह गरि उल्लेखनिय योगदान पुर्याउँदै आएको छ ।

सामुदायिक पुस्तकालयको विकासमा गरिएका केही प्रयासहरु
सर्वप्रथम वि.सं. २०११ सालमा नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा कुनै पनि शैक्षिक संस्थमा तथा गाउँ गाउँमा अध्ययन र अनुसन्धानको लागि एउटा राम्रो पुस्तकालय हुनुपर्ने कुरालाई जोड दिईएको छ ।

नेपालमा पहिलो पटक जननिर्वाचित सरकारले २०१७ सालमा विभिन्न सार्वजनिक पुस्तकालयहरुलाई ८० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।
यसको लामो अन्तरालपछि नेपाल राष्ट्रिय पुस्तकालयले पुस्तकालय कानुनको मस्यौदा तयार पारी नेपाल सरकारमा पेशा गरेको थियो । यसको कुनै कार्यान्वयन हुन सकेन ।

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले पुस्तकालयको महत्व र अनिवार्यतालाई विशेष प्राथमिकता दिएको पाईन्छ । प्रत्येक शैक्षिक संस्था र गाउँस्तरमा पुस्तकालयको ब्यवस्था गर्नुपर्ने कुरालाई जोड दिएको छ ।

उच्चस्तरीय शिक्षा आयोग २०५५ को प्रतिवेदनको समेत २०४९ को आयोगबाट प्रस्तुत पुस्तकालय सम्वन्धि सुझावलाई प्राथमिकता दिई जिल्लास्तरमा जिल्ला पुस्तकालय र ग्रामीणस्तरमा ग्रामीण पुस्तकालय र सूचना केन्द्र स्थापना गरिने छ भनी उल्लेख भए तापनि सो भएको पाईदैन ।

स्थानीय दसौं पञ्चवर्षीय योजनाले समेत पुस्तकालयको आवश्यकतालाई जोड दिएको पाइन्छ । दसौं योजनामा ग्रामिण क्षेत्रमा १५ सय टेलिसेन्टर खोल्ने लक्ष्य थियो यसको पनि राम्रो कार्यान्वयन हुन सकेन, गरिब २ सयवटा जति मात्र खोलिए ।

नेपाल पुस्तकालय सङ्घले पुस्तकालय नीति र पुस्तकालय ऐनको आवश्यकताबारे सन् १९९२ मा पुस्तकालयको अवस्थ्को बारेमा सर्बेक्षण गरेको थियो । उक्त प्रतिवेदन सम्वन्धित मन्त्रालयहरुमा पेश गरेको पाइन्छ ।वि.सं. २०६२ देखि शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत पुस्तकालय समन्वय शाखा स्थापना गरी पुस्तकालयको समस्या र विकासमा ध्यान दिंदै आएको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले २०६२।०६३ र २०६३।०६४ मा सार्वजनिक पुस्तकालयहरुलाई आर्थिक अनुदान दिएकोमा यस आर्थिक वर्षको लागि पनि बजेट ब्यवस्था गर्न प्रयास भइरहेको छ ।

यो सालको सबभन्दा ठुलो उपलब्धि भनेको पुस्तकालय तथा सुचना सेवा राष्ट्रिय नीति २०६४ पारित हुनु हो । देशमा पुस्तकालय सम्वन्धि कुनै पनि सरकारी दस्ताबेज नभएको अवस्थामा यो नीति आउनु पुस्तकालय विकासको लागि एउटा महत्वपूर्ण कदम मान्नु पर्दछ । यस नीतिले पुस्तकालयलाई शिक्षा र समाजको अभिन्न अङ्गको रुपमा लिएको छ । प्रत्येक गाउँमा सामुदायिक पुस्तकालय हुनुपर्ने कुरालाई यसले जोड दिएको छ ।  छिट्टै नै शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत पुस्तकालय विकास बोर्डको गठन हुदैछ । साथै हालै शिक्षा तथा खेलकुद मन्त्रालयले पुस्तक नीति मस्यौदा समिति पनि गठन गरिसकेको छ ।

सामुदायिक पुस्तकालयको विकासका लागि रहेका केहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरु
नेपाल राष्ट्रिय पुस्तकालयले २०५२ सालमा युनेस्को डानिया परियोजना लागू भएपछि ४ वटा विकास क्षेत्रमा रहेको सार्वजनिक पुस्तकालयलाई क्षेत्रीय स्तरको पुस्तकालयको रुपमा गरेको छ । जसमा पुर्वाञ्चल धरानमा रहेको सार्वजनिक विद्या भवन पुस्तकालय, पश्चिमाञ्चलको पोखरामा सार्वजनिक पुस्तकालय, मध्यमाञ्चलको नेपालगञ्जमा महेन्द्र पुस्तकालय र सुदुर पश्चिमाञ्चल धनगढीको कैलाली जन पुस्तकालय रहेको छ । ग्रामिण समुदायमा पुस्तकालयको माध्यमद्धारा समुदायको विकास गर्ने उद्देश्य लिएर स्थापना भएको ग्रामिण शिक्षा तथा विकास रिड नामक अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालको विभिन्न गाउँहरुमा ५० वटा दिगो विकासका लागि समेत काम गर्दै आएको छ ।

सरकारी विद्यालय खोल्ने अभियानमा रुम टु रुड नामक गैह्र सरकारी ८ सय ९० वटा स्कूलहरुमा पुस्तकालयमा स्थापना गरिसकेको छ भने करिव १२ सयवटा अन्य स्कूल र सामुदायिक पुस्तकालयहरुलाई पूस्तकहरु उपलब्ध गराउँदै आएको छ । स्कूल पुस्तकालयको माध्यमद्धारा समुदायमा समेत पुस्तकालय सेवा पुगोस भन्ने रुम टु रिडको चाहाना रहेको छ ।
नेपालमा केहि वर्ष यता देखि यस्तै अन्य धेरै सङ्घसंस्थाहरु पुस्तकालयको विकासमा लागिरहेका छन् । उदाहरणको लागि युनेस्को काठमाडौ २५ वटा सामुदायिक अध्ययन केन्द्रहरु देशका विभिन्न जिल्लाहरुमा स्थापना मिसन टु नेपाल, आमा मिलन केन्द्र, सेडपा नेपाल, बल्र्ड भिजन आदिले ट्रंक पुस्तकालयको माध्यमद्धारा समाजमा शिक्षाको विस्तार गर्ने कार्यमा सहयोग पुर्याएका थिए । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले अन्र्तराष्ट्रि«य स्तरको सार्वजनिक पुस्तकालय बनाउने अठोट साथ काठमाडौं भृकुटिमण्डप परिसरमा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय सुरु गरिसकेको छ ।

सामुदायिक पुस्तकाल विकास वर्तमान चुनैतिहरु
यो एक्काईसौं शताब्दीमा एकातिर छापिएका पुस्तक पत्रपत्रिकाहरुको ओईरो लागेको कागलरहित पेपरलेस सुचनाहरुको सुचनाहरुको आईरो लागेको छ । अब छापिएका पुस्तक, पत्रपत्रिकाहरु मात्र राखेर अत्याधुनिक पुस्तकालयको कल्पना गर्नु ब्यर्थ छ । अबको पुस्तकालय यी दुबै कुरालाई समाबेश गरी सञ्चालन गर्नु आवश्यक छ ।

नेपालमा सहर र गाउँको आर्थिक, सामाजिक, शैक्षिक विकासमा ठूलो अन्तर छ । पुस्तकालय तथा सुचना सेवामा पनि यस्तै स्थिति छ । सहि सुचनाको अभावले हाम्रो गाउँ घरमा जनता धेरै पछाडी परेका छन् । अझ पनि कतिपय हाम्रो गाउँ घरमा झडा पखाला लाग्दा पनी खान दिंदैन । यो अशिक्षा र सूचनाको कमिले गर्दा हो । दुर्गम ग्रामिण घरहरुमा रेडियो टेलिभिजनको त कुरै छाडौं पुस्तक पत्रपत्रिका नपुगेको घर र गाउँहरुमा पनि प्रशस्त छन् । यसको लागि प्रत्येक गाउँमा स्कुलमा पुस्तकालय तथा सुचना सेवाको विस्तार गरी सुचनाको पहुँच पुर्याउनु सरकार र समुदायको उक्तिकै जिम्मेवारी छ ।

सामुदायिक पुस्तकालायहरु कुन ऐन नियम अन्तर्गत दर्ता गर्ने हो सोको कानुनी रुपमा ब्यवस्था भएको पाईदैन । जिल्ला प्रशासन कार्यालयमा एउटा गैह्रसरकारी संगठनको रुपमा मात्र पुस्तकालय दर्ता गरिन्छ । जबसम्म यो अवस्था रहिरहन्छ तबसम्म पुस्तकालयको बिकास सम्भव छैन । तसर्थ सामुदायिक पुस्तकालयहरु ब्यवस्थित गर्न छुट्टै ऐनको ब्यवस्था हुनु जरुरी छ ।
विशेष गरेर सामुदायिक पुस्तकालयहरु समुदाय विकासका मेरुदण्ड हुन् । नियमित आर्थिक स्रोतको अभाव, दक्ष जनशक्तिको कमीले गर्दा सामुदायिक पुस्तकालय खुल्ने र बन्द हुने क्रम अहिलेसम्म पनि उक्तिकै छ । यो समस्याको निराकरणको लागि स्थानिय सरकारबाट आफ्नो आयस्रोतको १० प्रतिशत पुस्तकालय विकासमा छुट्याउनु पर्दछ र राज्यले पनि यसमा विशेष ध्यान पुर्याउनु पर्दछ ।

 निष्कर्ष
शिक्षा र समाजको अभिन्न अङ्गको रुपको रहेको सामुदायिक पुस्तकालयहरुलाई सूचना समाज निर्माणमा सक्रिय बनाउन नितान्त आवस्यक भईरहेको छ । सबै प्रकारका पुस्तकालयहरुलाई समेटने गरी नेपाल सरकारबाट पुस्तकालय कानुन बनाई नेपालको सबै गा.वि.स. र नगरपालिकाहरुमा अनिवार्य रुपमा भइरहेका पुस्तकालयहरुलाई  ब्यवस्थीत गर्ने र नभएका गाउँमा स्थापना गर्नु आजको आवश्यकता हो । साथै सन् २०१५ सम्म सबैको लागि शिक्षा पुर्याउने सरकारी प्रतिवद्धतालाई सफल बनाउन र सबै नागरिकलाई सुसूचित गराउन पुस्तकालयको सशक्त भुमिकालाई नकार्न हुन्न ।

एउटा सम्पन्न सामुदायिक पुस्तकालय जहाँ मन लागेको पुस्तक, पत्रपत्रिका पढ्न पाइयोस, रेडियो, टेलिभिजन हेर्न र सुन्न पाईयोस, इन्टरनेटबाट संसारमा भएका घटनाहरु जान्न पाईयोस, समुदायको विकासमा विभिन्न विषयमा छलफल गर्न पाईयोस, अतिरिक्त क्रियाकलापको माध्यमबाट समुदायको विकासमा सरिफ हुन पाइयोस, आफ्नो समुदायको विषयमा अन्यलाई जानकारी गराउन पाईयोस जो नै आज सबै नेपालीहरुको चाहना अनुरुपको सामुदायिक पुस्तकालय हो ।
सन्दर्भ सामग्री

    मानन्धर, कृष्णमान, पुस्तकालय विज्ञान ः एक परिचय, पाठ्यक्रम विकास केन्द्र त्रिवि १९८१
    राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदनहरु
    राष्ट्रिय योजना आयोग, आठौंदेखि दसौं पञ्चवर्षीय योजना
    रेग्मी, शिव ः नेपालमा सार्वजनिक पुस्तकालय हाम्रो पुरुषार्थ वर्ष २६ अङ्क १ पृ.५१—६१
    नेपाल पुस्तकालय सङघ स्मारीका २०६३

लेखक : भोला कुमार श्रेष्ठ
चिसापानी, रामेछाप
केशर पुस्तकालय प्रमुख,
निवर्तमान अध्यक्ष : पुस्तकालाय संघ

 If you want to download in PDF of  this complete article,
Download Link : Click Here to Download
Share this article :

0 comments :

Post a Comment